बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

म्याड्रिड । क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाइका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएका छन् ।

पहिलो रोजाइका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पनि बार्सिलोना र स्पेनिस ला लिगा आयोजकले यो विषयलाई गोप्य नै राखेको थियो । एक रिपोर्टअनुसार पछिल्लो परीक्षणमा उनीहरूमा कोरोनाको लक्षण नदेखिएपछि उनीहरू टिमको पूर्ण प्रशिक्षणमा जोडिइसकेका छन् । ती पाँच खेलाडीको नाम गोप्य नै राखिएको छ ।

बिज्ञापन

यद्यपि, क्लबका पदाधिकारीहरू यो विषयमा चिन्तित छन् । उनीहरूलाई खेल दौरान चोट बोक्न सक्ने बताइएको छ । क्लबले दुई साताअघि देखि नियमित प्रशिक्षण थाल्नुअघि आफ्ना सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो ।

स्पेनिस ला लिगा ११ जुनबाट सुरु हँुदै छ । बार्सिलोनाले १३ मार्चमा मर्लाेकासँग खेल्दै स्थगित ला लिगा सुरु गर्दै छ । ला लिगाको ११ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले निकटतम प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । कोरोनाका कारण स्पेनमा २ लाख ४० हजार बढीमा कोरोना संक्रमण पुष्टि हुँदा २७ हजार बढीले ज्यान गुमाएका छन् ।