
चीनसँगको सीमा क्षेत्र गलवान घाटीमा भएको हिंसात्मक झडपको खबर बाहिर आएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले पहिलो पटक ट्विटमा प्रतिक्रिया दिएका छन् ।
बुधबार लगातार दुई वटा ट्वीट गर्दै रक्षामन्त्री सिंहले राष्ट्रले उनीहरुको बहादुरी कहिल्यै पनि नभुल्ने बताएका छन् ।
उनले सो झडपका क्रममा ज्यान गुमाएका सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले यो कठिन घडीमा देश काँधमा काँध मिलाएर एकजुट भएको उल्लेख गर्दै उनीहरुको बहादुरी र साहसप्रति आफूहरुलाई गर्व रहेको बताएका छन् ।
उनले गलवानमा भएको सैनिक क्षति दुःखद र दर्दनाक भएको प्रतिक्रिया दिएका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘हाम्रा सैसनकले अनुकरणीय साहस र वीरताको प्रदर्शन गरेका छन् र भारतीय सेनाको सर्वोच्च परम्परामा आफ्नो जीवन बलिदान दिएका छन् । हामी सैनिकको बलिदानीलाई कहिल्यै भुल्नेछैनौं, सहिदको परिवारसँग पूरा देश उभिएको छ ।’