कोरियाबाट २ सय २८ नेपाली स्वदेश आइपुगे, १ सय ६१ जना जाँदै

काठमाडौंः कोरियाबाट २ सय २८ नेपाली स्वदेश फर्केका छन् । कोरोना महामारीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत आज स्वदेश फर्किएका हुन् ।

कोरियन एअरको चार्टर्ड उडानमार्फत नेपालीहरु कोरियाबाट आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् । प्रवेशाज्ञा अवधि सकिएका र नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर अति जरुरी हुनेहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काइएको हो ।

तीमध्ये अवैधानिक बसोबास गरेका तथा विभिन्न अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्ये १५ र बिरामी तथा गर्भवती ३६ जनासहित रोजगारी र अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् ।

यात्रुले टिकट बापत लाग्ने झण्डै ८५ हजार रुपैयाँ उनीहरु आफैले तिरेका हुन् । शनिबार सोही जहाजबाट १६१ जना नेपाली कोरिया जाने भएका छन् ।

कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु फर्किन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले बताए । तर हाललाई भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान भने पाएका छैनन् ।