एक महिना पनि आएन रिपोर्ट, क्वारेन्टाइनबाट बाहिर निस्किने चेतावनी

कोरोना परीक्षण रिपोर्ट आउन ढिलाइ भएपछि दाङका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेकाहरु आक्रोसित भएका छन्।

दाङका १० वटै स्थानीयतमा मंगलवारसम्म तीन हजार ८४५ जना क्वारेन्टाइनमा बसेका छन्। तीमध्ये धेरैको पिसिआर रिपोर्ट स्वाब संकलन गरेर पठाएको एक महिनासम्म पनि आएको छैन। स्वाब संकलन गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको करिब महिना दिन हुँदा पनि रिपोर्ट नआएपछि उनीहरुले अब क्वारेन्टाइन नबस्ने चेतावनी दिएका छन्।

बिज्ञापन

मंगलवारसम्म आठ हजार ६८३ वटा स्वाबको नमुना संकलन भएको छ। जसमध्ये ६ हजार १६ जनाको परीक्षण गर्दा ३०४ जनामा कोरोना पुष्टि भएको छ। अझै पनि भारतलगायत तेस्रो मुलकुबाट आउने क्रम जारी रहेको छ।

माध्यामिक विद्यालय सेन्टर तुलसीपुरमा बसेका कृष्णबहादुर कठायतले आफू भारतबाट आएर क्वोरन्टाइनमा बसेको १२ दिन हुँदा पनि कोरोना परीक्षणका लागि स्वाब नलिएको गुनासो गरे। उक्त क्वारेन्टाइनमा ७१ जना भारत तथा कुवेतबाट आएर बसेका छन्।

‘अहिलेसम्म चेकजाँच भएको छैन्,’ उनले भने, ‘हामीहरु बसै एकै ठाउँमा बसेका छौँ, कसलाई छ, छैन् थाहा छैन्। तत्काल चेकचाँज भए हामी ढुक्क हुने थियौँ।’ खाना र बस्नको राम्रो व्यवस्था भएता पनि समय मै जाँच नहुँदा आफूहरु त्रासमा रहेको समेत उनको गुनासो छ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको जनता संस्कृत माध्यमिक विद्यालयमा एक महिनासम्म बस्दा पनि रिपोर्ट नआएको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ। ‘भातरबाट आएर बसेको एक महिना भयो,’ तुलसीपुर–१८ का मोतीलाल खड्कले भने, ‘स्वाब संकलन गरी परीक्षणका लागि लगेको दुई साता हुदाँ पनि अझै रिपोर्ट नआएको छैन। बुधवारसम्म पनि रिपोर्ट नआए हामी क्वारेन्टाइबाट बाहिर जान्छौं।’

सोही क्वारेन्टाइनमा बसेका सोही वडाका वसन्तकुमार बस्नेतले नियमअनुसार १४ दिन क्वारेन्टाइनमा राख्ने भए पनि रिपोर्ट नआउँदा महिनौं दिन क्वारेन्टाइनमा बस्न बाध्य भएको गुनासो गरे। ‘हामीहरु यहाँ बसेको महिनौं भयो,’ उनले भने, ‘अब खेतीपाती गर्ने बेला भयो, खेतीपाती नगरे हामीले के खाने? महिनौ दिनसम्म पनि रिपोर्ट आउँदैन। यदि भोलि रिपोर्ट नआए क्वारेन्टाइन छाड्न बाध्य हुनेछौं।’

घोराही उपमहानगरपालिका–१८ स्थित माध्यामिक विद्यालय रझेना क्वारेन्टाइनमा बसेका हितकुमार क्षेत्रीले क्वारेन्टाइनमा केही सुविधा नपाएको गुनासो गरे। २७ दिनदेखि बस्दै आएको बताउँदै उनले खाना पनि घरबाट ल्याई दिने गरेको बताए। पहिला शुरु बस्नेलाई धेरै सुविधा भएको भए अहिले एउटै साबुन क्वारेन्टाइन बस्ने सबैले प्रयोग गर्ने गरेको उनको दुखेसो छ। स्वाब संकलन भएको एक महिना हुँदा पनि रिपोर्ट नआएको उनले सुनाए।

यता तुलसीपुर उपमहानरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले परीक्षणमा ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेकाहरु आत्तिएको बताउँछन्। स्वाब संकलन गरी पठाएको दुई सातासम्म पनि रिपोर्ट नआउँदा उनीहरुले क्वारेन्टाइनबाट बाहिर आउने चेतावनी दिने गरेको समेत केसीले बताए। तुलसीपुर उपमहानरमा ५०६ जनाको रिपोर्ट आउन बाँकी छ।

‘प्रतिष्ठानमा रिपोर्टको लागि बुझ्न खोज्दा त्यहाँका जिम्मेवार व्यक्तिहरुले फोन उठाउनु हुन्न,’ केसीले भने, ‘मिडिया आइसकेपछि मात्र हामीलाई थाहा हुन्छ। प्रतिष्ठानले आधिकारिक रुपमा हामीलाई रिपोर्ट नठाउँदा झन् समस्या भएको छ।’

अहिले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई ब्यवस्थापनका लागि दैनिक ५÷६ लाख खर्च हुने फोलक पर्सन केसीले बताए। ‘एउटै व्यक्तिको दैनिक करिब ६०० रुपैयाँ खर्च आउँ छ,’ उनले भने, ‘नियमअनुसार १४ दिनमा डिस्चार्ज गर्नुपर्ने हो । तर रिपोर्ट नआउँदै घर पठाए समाजमा झन् त्रास हुने भएकाले महिना दिनसम्म क्वारेन्टानमा बसाल्नु पर्दा स्थानीयतहलाई धेरै आर्थिक भार हुने गरेको छ।’

घोराही उपमहानरपालिकाका प्रवक्ता भरतमणि अर्यालले विश्व स्वास्थ्य संगठनले १४ दिन क्वारेन्टाइनमा बसेकालाई कुनै पनि लक्षण नदेखिए घर पठाउन सकिन्छ भने पनि आफूहरुले पिसीआर परीक्षणविना नपठाउने निर्णय गरेको बताए। भारतमा लकडाउन खुकुलो हुँदा त्यहाँबाट सुरुमा उपमहानगरका नागरिकहरु एकै पटक धेरै आउँदा क्वारेन्टाइन ब्यवस्थापन गर्न समेत समस्या परेको उनले बताए।

यता प्रतिष्ठानले भने दैनिक ६०० वटा नमुना परीक्षण गर्दै आइरेहको जनाएको छ। प्रतिष्ठानका कामय मुकाय रजिष्ट्रार कैलाशप्रसाद देबले प्रतिष्ठानमा प्रदेश ५ का साथै कर्णाली प्रदेशबाट स्वाब आउने र सुरुमा परीक्षण गर्ने मेसिन एउटै हुँदा रिपोर्ट ढिला आउने गरेको भएता पनि अहिले पहिलेको तुलनामा सहज भएको बताए। प्रतिष्ठानमा केही दिनअघि थप एउटा मेसिन आएको छ। तर, जठान हुन बाँकी रहेको छ।