‘बलमिचाइँ गरी अध्यादेशमार्फत आयोगहरूमा पदपूर्ति नगरियोस्’

काठमाडौँ : नेकपा एमाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत बाटो प्रयोग गरेर अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिचाइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ नेता नेपालले फेसबुकमार्फत सन्देश जारी गर्दै भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’

बिज्ञापन

 

प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् भने केही दिन अघिमात्र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आधा दर्जनभन्दा बढी अध्यादेश जारी गरेको थिए । त्यसतर्फ संकेत गर्दै नेता नेपालले अध्यादेशमार्फत् बलमिच्याइँ नगर्न ओलीको ध्यानाकर्षण गराएका हुन् ।