
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीको आन्तरिक एकतामा जोड दिएका छन् । उनले पार्टीको आन्तरिक एकता कमजोर र क्षीण बनेको बताए ।

स्थायी समितीको जारी बैठकमा शनिवार आफ्ना धारणा राख्दै नेता भट्टराईले लिम्पियाधुरासहित छुटेका भूभाग समेटेर नक्सा प्रकाशन गर्ने र संविधान संशोधन गर्ने तहसम्म आइपुग्दा पार्टीले सार्थक हस्तक्षेप गर्न सकेको दावी गरे । उनले यसलाई कायम राख्न बाह्य जोड दिए ।



पर्यटनमन्त्री समेत रहेका नेता भट्टराईले पार्टीभित्र दुई अध्यक्षवीच देखिएको तिक्तताको समाधान खोज्नुपर्ने बताए । उनले भने ‘सीमा रक्षाको कुरा गरिरहंदा नेताहरूबीचको सीमाहरूको समाधान पनि यहि बैठकबाट खोजिनुपर्छ । दुईजना अध्यक्षबीच, वरिष्ठ नेता र अध्यक्षहरूबीचका सीमा समस्याहरू समाधान गर्न बैठक सफल हुनुपर्छ ।’

उनले नक्सा प्रकाशित गर्न र संविधान संशोधन गरेर निशाना छाप–चिन्ह्मा अंकित गराउन एकताबद्ध भएका दललाई विभाजित बनाउन सक्ने खतरा रहेकाले सचेत रहनुपर्ने बताए ।
भट्टराइले तरार्ई–मधेसतिर पार्टीको उपस्थिति बढाउनुपर्ने भन्दै उनले राजनीतिक दलहरूको एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए । वार्ता र कूटनीतिक पहलकदमी बाहेक भूमि फिर्ता ल्याउने अर्को विकल्प नभएको भट्टराईको भनाई थियो ।
उनले सीमाको मुद्दामा कम्युनिष्ट पार्टीहरुले नेतृत्व गरेका सरकारको भुमिका समेत रहेको भन्दै नेकपाको सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको हो भनेर जस दिन कञ्जुस्याई गर्न नहुने धारणा राखे ।