किन भेटे प्रधानमन्त्री ओलीले अचानक राष्ट्रपति भण्डारीलाई ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान १०:३० बजे शीतल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

 

बिज्ञापन

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी समिति बैठक सुरु हुनुभन्दा अगाडि राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई चासोका साथ हेरिएको छ ।

 

पार्टी स्थायी समितिमा निकै आलोचना खेपिरहेका ओलीले आइतबार एक कार्यक्रममा भारत र नेपालका केही नेताहरु मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिमाथि पार्टीभित्र र बाहिर विरोध हुँदै आएको छ । पार्टी बैठकमा आलोचना भएपछि प्रधानमन्त्री ओली शुक्रबारको बैठकमा सहभागी नै भएनन् । त्यस्तै शनिबारको बैठकमा पनि पनि ४० मिनेटमात्रै बसेर ओली निस्किएका थिए ।

 

स्थायी समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी छन् । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका सचिवालयका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।

फाइल फोटो