ओली–प्रचण्डबीच आज पनि भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार पनि भेटवार्ता हुने भएको छ ।

पार्टीभित्रको द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न प्रचण्ड बालुवाटार गएको स्रोतले जनाएको छ ।

बिज्ञापन

सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको नेताहरू बताउँछन् ।

स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दवाव छ ।

दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै शनिबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर, हालसम्म वार्ताले मूर्तरुप लिन नसक्दा नेकपा थप जटिल मोडमा देखिएको छ ।

शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको अभिव्यक्ति दिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भनेर झूटो प्रचार गरिएको स्पष्ट पारेका छन् ।