जनताले १० रुपैयाँको मास्क किन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने सरकारले सोचेन : सांसद शाही

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद रंगमती शाहीले जनताको वास्तविक अवस्था थाहा नपाएझैं गरेर निर्णय गरिरहेको बताएकी छन् । सरकारले मास्क नलगाउने नागरिकलाई पक्राउ गर्न निर्देशन दिएकोतर्फ इंगित गर्दै सांसद शाहीले कतिपय नागगिक मास्क किन्न सक्ने अवस्थामा नरहेको र केही ठाउँमा मास्क नै उपलब्ध नहुने भएकोतर्फ ध्यान दिन आग्रह गरिन् ।

‘लकडाउन लगाउने बेला यसको प्रभाव के हुन्छ ? कसरी लागू गर्ने भन्नेबारे सोचिएन,’ सांसद शाहीले भनिन्, अहिले अनिवार्य मास्क लगाउने भनियो । १० रुपैयाँको मास्क किन्ने जनताको क्षमता छ कि छैन भनेर सरकारले सोचेन ।’

बिज्ञापन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकमा शाहीले सोधिन्, ‘मास्क नपाउने ठाउँमा के गर्ने होला ?’ मास्कको उपलब्धता नहुने तर त्यहाँ पनि प्रहरी हुने र मानिस बाहिर निस्किँदा पक्राउ पर्ने अवस्था आउने उनको भनाइ थियो ।

समितिले सार्वजनिक यातायात सञ्‍चालनबारे छलफल गरिरहेको छ । यातायात व्यवसायी र युनियनहरूसँग समितिले कसरी कोरोना संक्रमणपछिका दिनमा सार्वजनिक यातायात सञ्‍चालन गर्ने भन्नेबारे छलफल गरिरहेको हो ।

ट्रेड युनियनका अधिकारीकहरूका कुरा सुनेपछि समितिले सरकारी निकायको कुरा सुन्ने भनेको छ ।

स्वास्थ्य सचेतता अपनाएर सार्वजनिक यातायात सञ्‍चालन गर्नुपर्नेतिर सरकार अग्रसर हुनुपर्ने सांसद र यातायात व्यवसायीले बताएका छन् । सांसद रामबहादुर विष्टले स्वास्थ्य सतर्कता अपनाएर यातायात सञ्‍चालन गर्नुपर्ने बताए । सरकारले लकडाउन भएको १०७ दिनसम्म पनि यातायात मजदुरको ख्याल नगरेको उनको भनाइ थियो । ‘लकडाउन गर्ने सरकारले १०७ दिनसम्म पनि यातायात मजदुरको अवस्था बुझ्नु पर्दैन ? मजदुर र व्यवसायीलाई उदार मात्रै हुनुस् भन्ने ? काम गरेर खानुपर्ने अवस्थामा कामै छैन गर्ने के ?,’ उनको प्रश्न थियो ।

नेकपा सांसद लिलानाथ श्रेष्ठले सबै पक्ष बसेर एक निर्णयमा पुग्नुपर्ने बताए । स्वास्थ्य सचेतता अपनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

यातायात सम्बद्ध युनियनका प्रतिनिधिले भने सरकारसँग बारम्बार माग राख्दा पनि सुनुवाइ नभएको बताएका छन् । उनी सरकारले सञ्‍चालन गर्ने निर्णय नलिए कि सडकमा आउनुपर्ने कि आत्महत्याको बाटो अपनाउनुपर्ने अवस्था आएको गुनासो गरे ।