नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिजवालय बैठक आज दिउँसो बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो । बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने भएको छ ।

बिज्ञापन

दुई अध्यक्षबीच लामो संवादपछि पनि सहमति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको बैठक बसेको थियो । त्यस बैठकमा पनि दुवै पक्षले आ–आफ्नो अडान राखेपछि कुनै सहमति जुट्न सकेको थिएन ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर आइतबारसम्मका लागि स्थगित भएको छ ।

ओली र प्रचण्डबीच स्थायी कमिटीमा प्रस्तुत गर्ने समसामयिक प्रस्ताव, कोरोना नियन्त्रण र प्राकृतिक प्रकोपको राहत तथा उद्धारका लागि पार्टीपंक्तिलाई परिचालन गर्ने, केन्द्रीय कमिटीमा लैजाने राजनीतिक प्रतिवेदनका सैद्धान्तिक विषयलगायत एजेन्डामा सहमतिका लागि प्रयास भइरहेको बुझिएको छ ।

सचिवालयमा कुनै ठोस सहमति नभए आइतबार स्थायी कमिटी बैठक पनि स्थगित हुने सम्भावना छ । सचिवालयमा सहमति जुटे अध्यक्षद्वय ओली र प्रचण्ड केन्द्रीय कमिटी बैठकको मिति तोक्नुअगावै छलफलका लागि लैजाने एजेन्डामा समझदारी खोज्ने प्रयासमा जुट्ने छन् ।

यद्यपि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीचको छलफलमा शुक्रबारको स्थायी कमिटी बैठक नरोक्ने र भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउने समझदारी भएको थियो ।