
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवासँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्ने बताएका छन् ।
नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो बचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टीप्पणी गरेका छन् । ‘सरकारले सम्झौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठविना खाना-पानी सत्याग्रहमा बसेको,’ राणाले बिहीबार ट्वीट गर्दै भने ।
‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन । बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ । यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ,’ उनले भने ।
कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै ‘इनफ इज इनफ’ अभियान संचालन गर्ने क्रममा यस अघि युवाले १२ दिन सत्याग्रह गरेका थिए । यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे सम्झौता भएको थियो । तर, सरकारबाट सम्झौता पालना नभएपछि युवा पुनः वसन्तपुरमा सत्याग्रहमा छन् ।