
एजेन्सीः भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा एक उम्मेदवार कम भोट आएको भन्दै धुरु-धुरु रोएका छन् ।
उनले भनेका छन्, ‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए ।’
नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए । चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन । सबैभन्दा बेखुसी त उनी आफ्नै परिवारले पनि भोट नदिँदा भएका हुन् ।
नीतू मतगणना केन्द्रमै धुरु-धुरु रुँदा मानिसहरूले उनका कुराको भिडियो रेकर्डिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरे ।
अन्तिम मतगणनामा नीतूले ८५६ भोट ल्याए । हारबाट निराश नीतूले अबदेखि कहिल्यै चुनाव नलड्ने बताएका छन् ।