
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताएका छन् । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनुपर्ने पर्ने आवाज फेरी उठेको हो ।
नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गलत तरिकाले भएको उनको भनाई छ । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाई छ ।
यता नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ । लक डाउनका कारण तत्काल सम्भव नभएपनि सरकारले संग्रहालयहरु खुला गर्ने निर्णय सरकारले गरेपछि सर्वसाधारणका लागि खुला गरिने नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।
स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी, सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ । नेपालको अद्यावधिक नक्सा अनुसार त्यसलाई परिमार्जन गर्न भने बाँकी रहेको छ ।