काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन्।

शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अन्तरक्रिया तथा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा श्रममन्त्री विष्टले यस्तो भनेका हुन्।

शिक्षण संस्थाहरुले उत्पादन गरेका विद्यार्थीहरुलाई राज्यले रोजगार दिन नसक्दा विदेशिनु परेको उनको भनाई छ। ‘स्वदेशी श्रमिकले काम पाएका छैनन्, श्रम बजारले पनि श्रमिक पाएको छैन’, मन्त्री विष्टले भने, ‘नेपालमा ५ लाख विदेशीहरुले काम गरिरहेका छन्। जुन काम नेपालीहरुले गर्न मान्दैनन्।’

केही युवाहरुको क्षमताप्रति असन्तुष्टि जनाउँदै मन्त्रीले विष्टले भने, ‘एकातिर अध्ययन पुरा गर्न सकेका छैनन्, अर्कातिर सीपमुलक काम नै केही सिकेका छन्।’

आगामी दिनमा युवाहरुलाई माथि उठाउनका लागि स्थानीय सरकारले जोड दिनुपर्ने उनले बताए। ‘युवाहरुलाई देशमै काम दिएर आत्मनिर्भर बनाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेका हौं’, मन्त्री विष्टले भने, ‘अब हरेक नागरिकलाई रोजगारसम्बन्धि सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरिरहेको छ।’

सूचना प्रणालीमा शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ ? भन्ने तथ्यांङ्क समेत समावेश गरिने योजना अघि सारेको उनले बताए।

उनले भने, ‘सरकारले बेरोजगारलाई निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेपछि सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सूचना प्रणालीको पनि विकास गर्न लागेको हो।’

संविधानले सबै युवालाई रोजगारी दिने ग्यारेण्टी गरेको छ, तर त्यसलाई कार्यान्वयनको गर्न र युवाहरुलाई रोजगार गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात गरेको उनले बताए।

वेरोजगारलाई रोजगारी दिनका लागि ठूलो संख्यामा कर्मचारीको विज्ञापन गर्ने तयारी भएको उनले बताए। मन्त्री विष्टले भने, ‘अबको केही दिनमा इतिहासकै सबैभन्दा बढी कर्मचारी आवश्यकता सम्बन्धी सूचनाहरु प्रकाशन गर्ने तयारी गरिरहेका छौं।’

‘यो वर्ष ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजकका लागि विज्ञापन गर्र्यौं भने अब आउँदा वर्षका लागि ५ लाख युवालाई रोजगारी दिने गरी विज्ञापन गर्ने तयारी भएको छ’ उनले भने।