
काठमाडौं । नेपाली कांग्रेसमा असन्तुष्ट शेखर कोइराला पक्षका नेताहरुले आज छलफल गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताएका छन् ।



‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका १ जनालाई पनि समेट्नुभएको छैन, राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न’ घिमिरेले भने ।

न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने घिमिरेको भनाई छ । ‘न्यायोचित निर्णय गर्नुुहुन भने ४० प्लस चाहियो’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’