संक्रमितको शव परिवारलाई दिएपछि तनाव

विराटनगर : विराटनगर महानगरपालिका–१० का ६३ वर्षीय पुरुषको गत बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरियो। रिपोर्ट नआउँदै सिकिस्त बिरामी परेपछि मिर्गौला रोगी रहेका उनलाई शुक्रबार उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो।

उनको धरानमै शनिबार मृत्यु भयो। धरानमा पनि उनको स्वाब संकलन गरेर परीक्षणका लागि प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। तर दुईवटा प्रयोगशालाबाट अलग–अलग रिपोर्ट आयो। कोशी अस्पतालको प्रयोगशालाबाट पोजेटिभ र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आएपछि बीपी प्रतिष्ठानले मृतकको शव दाहसंस्कारका लागि परिवारका सदस्यको जिम्मा लगाएर विराटनगर पठायो।

बिज्ञापन

प्रदेश १ का दुईवटा प्रयोगशालाको पीसीआर रिपोर्ट फरक–फरक आए पनि परिवारका सदस्यले उनको शव बुझेर ल्याए र अत्येष्टी गरे। कोरोना भाइरस (कोभिड–१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर सरकारले जारी गरेको कार्यविधि विपरित ठूलो संख्यामा मलामी लगेर ती पुरुषको शवको अन्तिम संस्कार गरियो।

मृतक विराटनगरका व्यापारी हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार ती पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि गरेपछि अन्तिम संस्कारमा सहभागीहरु अहिले तनावमा छन्।

मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले प्रयोगशालाले दिएको रिपोर्टका आधारमा मन्त्रालयले संक्रमित र मृतकको तथ्यांक संकलन गर्ने बताए। संक्रमित व्यक्तिको शव दाहसंस्कारका लागि परिवारलाई जिम्मा दिइनु गम्भीर विषय भएको भन्दै सम्बन्धित निकायले जवाफ दिनु पर्ने उनको जिकिर छ। एउटै व्यक्तिको फरक–फरक रिपोर्ट आउने विषयमा पनि प्रयोगशालालाई नै थाहा हुने मेहताको भनाइ छ।

पहिले लिएको रिपोर्ट सही हुने बताउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भने, ‘पुरुषको मृत्यु कोरोनाकै कारण भएको हो। स्वाब संकलनमा प्राविधिक त्रुटि भएकाले पछिल्लो पटक रिपोर्ट नेगेटिभ आएको हुन सक्छ’ मेहताले भने। नमुना संकलन भएकामध्ये पनि ७० प्रतिशतमा मात्रै सहि रिपोर्ट आउने उनको भनाइ छ।
‘संक्रमितको बीपीका प्रवक्ता डा.दिनेश सापकोटाले प्रदेशको प्रयोगशालाको नेगेटिभ रिपोर्टका आधारमा शव परिवारलाई बुझाइएको बताए। ‘कोशीको रिपोर्ट हामीलाई ढिलो प्राप्त भयो। त्यतिबेला हामीले शव बुझाइसकेका थियौं,’ उनले भने, ‘आपसमा समन्वय नहुँदा संक्रमितको सावलमा समस्या भइरहेको छ। यस्तो हुँदा समुदाय नै कोरोनाको थप जोखिममा पर्दै जाने भय रहन्छ।’

मृतकको शव अन्त्येष्टिको विषयलाई लिएर उत्पन्न विवाद समाधान गर्ने क्रममा विराटनगर महानगरपालिकाले पनि समन्वयकारी भूमिका खेलेको थियो। महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्त्येष्टि गर्न शव दिएको थियो। तर डीएसपी वेदप्रसाद गौतमको नेत्रृत्वमा पुगेको प्रहरी टोलीले संक्रमणले मृत्यु भएको बताउँदै प्रक्रिया पूरा गरेर शव व्यवस्थापन हुने भएकाले मलामी लगेर दाहसंस्कार नगर्न परिवार र आफन्तलाई आग्रह गरेको थियो।

तर बीपी प्रतिष्ठानले शव जिम्मा लगाएको र महानगरसँग पनि समन्वय गरिएको भन्दै परिवारका सदस्य र आफन्तले प्रहरीको कुरा अस्वीकार गरे। पहिले संक्रमण पुष्टि भए पनि प्रदेश प्रयोगशालाबाट नेगेभिट रिपोर्ट आएकाले अस्पतालले जिम्मा लगाएर पठाएका कारण शव व्यवस्थापनका लागि परिवारलाई दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलको भनाइ छ।

‘रिपोर्ट पोजेटिभ आएको भए अस्पतालले पनि शव परिवारलाई दिँदैन थियो,’ उनले भने, ‘हाम्रो रेकर्डमा भने कोरोनाका कारण मृत्यु भएको भन्ने छैन।’ प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा भने महानगरले केही बोल्न नमिल्ने र यसको जवाफ सरकारले नै दिने पोखरेलले बताए। उनले परिवारका सदस्य र आफन्त तथा मलामी गएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बाताउँदै स्वास्थ्यमा कुनै समस्या भएमा तत्काल सम्पर्क गर्न आग्रह गरिसकिएको जानकारी दिए।

प्रयोगशाला प्रमुख यादवले कोरोनाकै कारण पुरुषको मृत्यु भएकाले मृतकको अन्त्येष्टी र मृत्यु संस्कारपछिको काममा सहभागी भएकाहरुले अरुसँगको सम्पर्कबाट सुरक्षित रहँदै जतिसक्दो चाँडो अनिवार्य पीसीआर गराउनु पर्ने बताए। नत्र भोलिका दिनमा संक्रमण अन्यत्र फैलिन सक्ने जोखिम धेरै रहने उनको भनाइ छ। अन्नपूर्ण पोस्ट बाट साभार