
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण भएको ५ महिना बितिसकेको छ ।अहिलेसम्म पनि निर्वाचन आयोगमा दर्ता हुन भने सकेको छैन ।
कमल थापा पक्षधरले गाई लाई नै चुनाव चिन्ह मानेर जानुपर्ने बताइरहेका बेला अर्को पक्षले भने नयाँ दलको चुनाव चिन्ह हलो नै हुनुपर्नेमा अडान लिइरहेका छन् । चुनाव चिन्हको विषयमा केन्द्रिय नेताहरू अलमलिए संगै कार्यकर्तामा भने निराशा छाउन थालेको छ ।
पार्टी एकीकरण भएको ५ महिना बित्न लाग्दा समेत निर्वाचन आयोगमा दर्ता हुन नसक्नु र चुनाव चिन्ह मै अलमलिएको अवस्थामा कतिपय कार्यकर्ताले पार्टीको भविष्य माथि नै शंका बढेको धारणा राख्न थालेका छन् । केन्द्रिय तह देखि पार्टीका विभिन्न भातृ संगठनले समेत आगामी दिनमा कसरी अगाडी बढ्ने भन्दै चिन्ता र चासो व्यक्त गर्न थालेका छन् ।
राप्रपाले हलो वा गाई मध्ये कुन लाई लिएर अगाडी बढ्दा उपयुुक्त हुन्छ भन्ने विषयले उक्त पार्टीका कार्यकर्ताको आवाज सामाजिक संजालमा प्रशस्तै भेटिने गरेको छ । कार्यकर्ताले गम्भीर चासो देखाउदै जतिसक्दो चाडो चुनाव चिन्हको झमेला टुंग्याउने तर्फ कदम चाल्न केन्द्रिय नेताहरूलाई आग्रह गरिरहेका छन् ।
यसै सन्दर्भमा राप्रपा झापा जिल्ला अध्यक्ष अम्बर बिष्ट सामाजिक संजाल फेसबुकमा लेख्दै पार्टीको चुनाव चिन्ह गाई नै राखिनु उत्तम विकल्प भएको धारणा राख्छन् । केन्द्रिय नेतृत्वलाई चाडो टुंगोमा पुगेर तुरुन्तै दल दर्ता गर्न समेत उनलेे सुझाव दिएका छन् । समिति गठन गरेर वा महाधिवेशन बाट पनि चुनाव चिन्हको बिषयमा टुंगो लगाउन सकिने उनको भनाइ छ ।
पार्टी एकीकरण भइ सकेको परिस्थितिमा चुनाव चिन्हको विषयमा खासै छलफल गर्नु नपर्ने र गाई वा हलो मध्ये एउटालाई मानेर जादा हुने उनको बुझाइ छ । यद्यपि उनले हिन्दु धर्म नै पार्टीको मुख्य एजेन्डा भएकोले गाई लाई चुनाव चिन्हको रूपमा लिदा आगामी निर्वाचनमा जनमत लिन सहज हुने उनको धारणा बुझिन्छ ।
दुई पार्टी बिचको एकता भएको ५ महिना बितिसके पनि अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन नसकेको प्रती ध्यानाकर्षण गराउदै बिष्ट भन्छन्, ‘एउटा समिती को गठन गरेर प्रतिबेदन सात दिन भित्र पेश गर्ने जिम्मेवारी दिएको छ । ऐले पार्टीका तमाम कार्यकर्ताहरु चुनाब चिन्हको बारेमा सामाजिक सन्जाल मार्फत बहस गर्दै गरेको देखिन्छ । बहस हुनु स्वाभाविक पनि हो । मेरो निजि बिचारमा चुनाब चिन्ह को छिनो फानो पार्टीको अधिबेशन वा केन्द्रिय कार्यसमितीको बैठकबाट हुनु पर्दछ । जहाँ सम्म गाई वा हलो को कुरा छ हामी पार्टीका कार्य कर्तालाई दुबै चिन्ह पृय छन् तर राप्रपा अरु पार्टी भन्दा भिन्न बिचार तथा सर्बधर्म सहित को हिन्दु राष्ट्र को एजेन्डा बोकेको पार्टी भएको हुदा गाई चुनाब चिन्ह बढी उपयुक्त हुन्छ । भोलि निर्वाचनमा जादा हुने परिणामको बारेमा सबैले चिन्ता गरौं भन्ने आग्रह गर्दछु ।’