प्राङ्गारिक मलले बजार पाएन

झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आए पनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । पोखरा महानगरपालिका- ३२ मा रहेको सो कम्पनीले अहिले महानगरभित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो ।

‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङ्गारिक मल उत्पादन गरे पनि बजार अभावको समस्या भोगिरहेको छ । देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन ।

बजार अभाव हुादा नत उत्पादित मल बिक्री भएको छ न बायोग्यास नै बिक्री गर्न सकिएको कम्पनीले जनाएको छ । उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन गरिरहेका भए पनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गीकरण गरि नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए ।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अर्ग्यानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ । अर्ग्यानिक फार्मका कृषकहरू र अनुदानमा टनेल खेती गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन् ।

कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पूर्ण प्राङ्ग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।