कांग्रेस कार्यसमिति बैठक अनिश्चित, महाधिवेशन पनि अन्योल

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित बनेको छ । बैठक तत्काल हुने सम्भावना नभएपछि महाधिवेशनदेखि तल्ला तहका अधिवेशनको तालिकामै अन्योल बढेको छ ।

कोरोना संक्रमणका कारण पार्टीको क्रियाशील सदस्यता वितरण यतिबेला प्रायः ठप्प छ । सदस्यता वितरणले महाधिवेशनको तालिकामै प्रभाव पार्छ ।

आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डामा पार्टीको संस्थापनइतर पक्षले उठाएका मुद्दाका अलावा महाधिवेशनको तालिका पनि थियो ।

पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनका कारण स्थगित गरिएको यो बैठक अब कहिले बस्ने टुंगो छैन । यसअघि असोज १९ गते बैठक बोलाइएको थियो । सात केन्द्रीय सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि बैठक २५ गतेलाई सारिएको हो ।

यसबीचमा कोरोना संक्रमण घट्नुको साटो बढ्दै गएको छ । आइतबारको केन्द्रीय कार्यसमिति बैठकलाई लक्ष्य गरेर बिहीबार पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको पुनः पीसीआर परीक्षण गराएको थियो ।

कर्मचारी, स्वकीय सचिव, सुरक्षागार्ड र सवारी चालकसमेत गरी १ सय ५१ जनाको पीसीआर परीक्षण गराउँदा थप आठ जनामा संक्रमण देखिएको छ ।

केन्द्रीय सदस्य रत्ना शेरचन र आमन्त्रित सदस्य जनकलाल कलौनीलाई संक्रमण पुष्टि भएको छ । एक जना कार्यालयकै कर्मचारीलाई पनि संक्रमण देखिएको छ ।

बैठकमा चिया, पानीको प्रबन्ध गर्ने ती महिला कर्मचारीमै पोजिटिभ देखिएपछि नेताहरू फेरि सशंकित छन् । अन्य धेरैजसो कर्मचारी होम आइसोलेसनमा छन् ।

वरिष्ठ नेता पौडेलले फागुनमै केन्द्रीय महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘दुई महिनाभित्र क्रियाशील सदस्यता टुंगो लगाउन सकियो भने डेढ महिनामा केन्द्रदेखि तल्ला तहसम्मका सबै अधिवेशन सकिने रिपोर्ट निर्वाचन समितिले नै दिएको छ,’ उनले भने, ‘ठूलो कुरा इच्छा शक्तिको हो ।’

सहमहामन्त्री प्रकाशशरण महतले पनि सकेसम्म तोकिएको मितिमा महाधिवेशन गर्न पार्टी सभापति सकारात्मक रहेको बताए ।

‘पौडेलजीले फागुनमै हुनुपर्छ भन्दा सभापतिले पनि मलाई केही छैन, गर्न सकिन्छ भने गरौं भन्नुभएको छ,’ उनले भने, ‘अधिवेशन गराउन नचाहेको, आलटाल गरेको भन्ने होइन ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशन तिथि सार्नुपर्ने प्रस्ताव अनौपचारिक बैठकमा राखेका थिए । तर कोरोनाले नेताहरुबीचको छलफललाई पनि विथोलिदिँदा महाधिवेशनमाथि अन्योलता सिजर्ना गराएको छ ।