पञ्जाबको दोस्रो जित, बैंगलोर ८ विकेटले पराजित

आईपीएल/ किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जीत हात पारेको छ ।

सारजाहमा गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रन जोडे । यो सिजन पहिलो पटक गेलले पन्जाबको प्लेइङ सेटमा स्थान बनाएका हुन् । उनले पहिलो खेलमै उत्कृष्ठ प्रदर्शंन गरेका हुन् ।

यस्तै मायांक अग्रवालले ४५ रन बनाए भने निकोलस पुरनले अन्तिम बलमा छक्का प्रहार गर्दै पञ्जाबलाई जीत दिलाए । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे भने शिबम दुवेले २३, आरोन फिन्चले २०, देभदुत पडीक्कलले १८, र वासिंगटन सुन्दर १३ रनमा आउट भए । यस्तै क्रिस मोरीस २५ र इसुरु उडाना १० रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए भने अश्रदिप सिंह र क्रिस जोर्डनले १–१ विकेट हात पारे ।

जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाबले जारी सिजनमा दुवै जीत बैंगलोरविरुद्ध हात पारेको हो । पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ ।