सशस्त्र युद्धका बेला विस्थापित जस्तै भएको संस्कृत शिक्षा प्रती आकर्षण बढ्दो

झापा। पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो ।समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएकामा सरोकारवालाले खुशी व्यक्त गरेका छन् ।

 

बिज्ञापन

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम परिसरमा सञ्चालन गरिएको शालग्राम गण्डकी वेद विद्याश्रममा पछिल्लोपटक विद्यार्थीको आकर्षण बढ्दै गएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा सञ्चालन गरिएको संस्कृत विद्यालयमा बसेर संस्कृत तथा आधुनिक विषय अध्ययन गर्नका लागि म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी आएका छन् ।

 

अहिले मुगु, रामेछाप, स्याङ्जा, पाँचथर, पर्वत, बागलुङ र म्याग्दीका गरी सात जिल्लाका विद्यार्थीले यहाँ अध्ययन गर्दै आएका छन् । शालग्राम कालीगण्डकी वेद विद्याश्रमका प्रधानाचार्य चिरञ्जीवी आचार्यले दिएको जानकारीअनुसार उक्त विद्यालयमा हाल २८ विद्यार्थी अध्ययनरत छन् । विद्याश्रमको ६ कक्षामा १२, ७ कक्षामा आठ र ८ कक्षामा पनि आठ विद्यार्थीले संस्कृतसहित आधुनिक विषय अध्ययन गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।

 

सनातन वैदिक धर्मको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्याश्रममा संस्कृततर्फ संस्कृत व्याकरण, शुक्लयोजुर्वेद, संस्कृत भाषा र कर्मकाण्ड विषय रहेको छ । यसैगरी आधुनिक विषयतर्फ नेपाली, सामाजिक, अङ्ग्रेजी र गणित विषयको अध्ययन अध्यापन भइरहेको प्रधानाचार्य आचार्यले बताउनुभयो । उहाँका अनुसार मुख्य विषय भने संस्कृतलाई नै जोड दिइएको छ ।

 

वेद विद्याश्रममा अध्ययनरत सबै विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट निःशुल्क रुपमा आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै अध्यापनरत तीन शिक्षकको तलब पनि क्षेत्र विकास कोषले नै व्योहोर्दै आइरहेको छ । शालग्राम वेद विद्याश्रममा चालू शैक्षिक सत्र २०७६ को वैशाखदेखि कक्षा ८ सञ्चालन गरिएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

 

विगतमा संस्कृत विद्यालय सञ्चालन गरिएको भए पनि बीचको समयमा आएर केही समय बन्द भएपछि विसं २०७३ बाट पुनः संस्कृत अध्ययन गराउने उद्देश्यका साथ गलेश्वरमा वेद विद्याश्रम शुरु गरिएको थियो । गलेश्वर मन्दिर परिसरमा केही समययता विभिन्न पूर्वाधारसमेत थपिएका छन् ।

 

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिरको चौतर्फी विकासका लागि क्षेत्र विकास कोषबाट आवश्यक पहल थालिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।विसं २०४४ मा स्वामी श्रीधराचार्यले गलेश्वरमा आश्रम बनाई संस्कृत शिक्षा र आध्यात्मिक ज्ञानको प्रचारप्रसार गर्नुभएको थियो । उहाँले आफ्नै व्यक्तिगत लगानीमा गलेश्वरमा संस्कृत पाठशाला स्थापना गर्नुभएको थियो । सोही संस्कृत पाठशाला बीचमा केही समय बन्द भएपछि हाल पुनः सञ्चालनमा ल्याइएको हो ।