
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधनमन्त्री केवी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई भेटेर बाहिरिएको केही घण्टामै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।



शुक्रबारको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेसँगै नेकपाभित्रको विवाद थप उग्ररुप लिएको छ ।

बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।विवादले पार्टी गम्भीर मोडमा पुगेको सन्दर्भमा राष्ट्रपतिले चासो देखाउँदै छलफल तीव्र पारेकी हुन् ।
मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीबीच नेकपा विवादका विषयमा छलफल भएको छ । ओलीसँगको छलफलअघि प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टी नफुटाउन र दुबै अध्यक्ष मिलेर जान सुझाएकी थिइन् ।
यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादप्रति चासो राखेकी थिइन् ।