सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्तावको तयारी

धनगढीः बागमती प्रदेशबाट शुरु भएको अविश्वासको प्रस्ताव सोमबारसम्म सुदूर पश्चिम प्रदेशसम्म पुग्ने देखिएको छ ।

सुदूर पश्चिम प्रदेश सभामा बिगतमा कमजोर देखिएको ओली पक्ष केही दिनमै बलियो देखिएको छ । ५३ जना सदस्य रहेको सुदूर पश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्य थिए । जसमध्ये यसअघि ओली पक्षका ४ चार जना मात्र सदस्य थिए । प्रचण्ड-नेपाल पक्षका ३५ जना सदस्य थिए । सुदूर पश्चिम प्रदेश सरकारमा ओली पक्षधरका रुपमा एक जना मात्र भौतिक पूर्बाधार मन्त्री पठान सिंह बोहरा चिनिन्थे ।

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहले प्रदेश सरकार एकल रुपमा चलाउन सक्ने सम्भावना ओली पक्ष बलियो भएपछि भने टरेको छ । ओली पक्षले शुक्रबार साँझसम्म ११ जना प्रदेश सभा सदस्य आफ्नो पक्षमा रहेको दावी मात्र गरेको छैन, त्यो संख्या शनिवारसम्म १४ पुग्ने दावी गरेको छ ।
संभवत सोमवारसम्म हामी सुदूर पश्चिम प्रदेश सरकारकाबिरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिसक्ने छौ, ओली निकट एक केन्द्रीय नेताले भने, सबैभन्दा पहिले सुदूर पश्चिम प्रदेश सरकार ढल्ने निश्चित छ ।

अविश्वासको प्रस्ताव पारित हुन २७ जनाको आवश्यकता पर्नेछ । ओली पक्षले अविश्वास प्रस्तावका लागि काँग्रेस र राजपा (जसपा) सँग सहकार्यका लागि छलफल भईरहेको जनाएको छ । काँग्रेसका १२ र राजपाका दुई जनालाईसमेत जोडेर अविश्वास प्रस्ताव पारितका लागि प्रदेश सभा सदस्यको आवश्यक संख्या पुग्ने ती नेताले बताए ।

हामीलाई आवश्यक संख्या २७ जना हो, ती नेताले दावी गरे, हाम्रो साथमा त्यो भन्दा बढि प्रदेश सभा सदस्य हुने छन् । अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि तीन जना मन्त्री पठान सिंह बोहरा, झपट बोहरा र बिनिता चौधरीले मन्त्री पदबाट राजिनामा दिने तयारी गरिरहेको बताईएको छ ।

तिनै जनाले ओलीलाई समर्थन गरेको ती नेताले बताएका छन् । कञ्चनपुरका महेशदत्त जोशी, डडेल्धुराकी कुन्ति जोशी, बझाङकी देवकी मल्ल, बैतडीका लिलाधर भट्ट, कैलालीका रतन थापा र नेपालु चौधरीले ओली पक्षलाई साथ दिएका छन् । ४ जना प्रदेश सभा सदस्यले पनि आफ्नो पक्षलाई साथ दिएको र उनीहरु पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा खुलेर बाहिर आउने उनको दावी छ ।

प्रचण्ड-नेपाल समूह कमजोर भए मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार आगामि केही दिनमा ढल्नेछ । प्रचण्ड-नेपाल समूह बलियो भईरहे पनि मुख्यमन्त्री भट्टले भने सरकारमा निरन्तरता पाउने छैनन, स्रोतले भन्यो,‘मुख्यमन्त्री भट्टको नेतृत्व क्षमता कमजोर भएका कारण सुदूर पश्चिम प्रदेश सरकार आलोचित भईरहेकाले उनले निरन्तरता पाउने छैनन् ।’

ओली पक्ष जसरी पनि सुदूर पश्चिम प्रदेश सरकार ढाल्न जुटेको छ । मुख्यमन्त्री भट्टले आफ्नो पद जोगाउनका लागि आफूलाई मुख्यमन्त्री बनाउने नेता लेखराज भट्टको साथ छोडे पनि उनले अव मुख्यमन्त्री पदमा निरन्तरता पाउने संभावना देखिदैन । ओली पक्षले सकभर आफ्नै पार्टीको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार बनाउने छ ।

यद्दपि काँग्रेसलाई साथमा लिएर जादा काँग्रेसलाई नै मुख्यमन्त्री पद दिन ओली पक्ष तयार छ । त्यसो भए काँग्रेसका संसदीय दलका नेता डा.रण बहादुर रावल मुख्यमन्त्रीका रुपमा अगाडि सारिने बताइएको छ । सुदूर पश्चिममा पछिल्लो समय कमजोर मानिएका ओली पक्षधर नेता लेखराज भट्टले केही दिनमै आफ्नो पक्षमा संघीय र प्रदेश सभाका प्रदेश सदस्यसँगै पूर्व माओवादीका नेताहरुलाई पनि पारेको ती नेताले बताए ।