ओली श्री ३ महाराजको पथमा हिँडेकाले पराजित : प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं करोडौं जनताबाट बनेको संविधानलाई कुल्चिएर प्रधानमन्त्रीले रिस उठेको भरमा संसद् विघटन गरेको टिप्पणी गरेका छन् । यस्तै हुन्छ भनेर आफूहरुले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको उनले बताए ।

अध्यक्ष प्रचण्डले आफूहरु जनतामा जान तयार भएर बसेको बताउँदै पहिलाको तीतो अनुभवबाट पाठक सिकेर अहिलेको संविधानमा पहिलाको जस्तो प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भनेर संविधान बनाए पनि प्रधानमन्त्री ओलीको सनकले संविधान मिचिएको दाबी गरे ।

बिज्ञापन

जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रम पेरिस डाँडामा अध्यक्ष प्रचण्डले भने,‘हामी सडकमा पुगेको हैन, जनताको बीचमा पुगेको हौं ।’उनले घुमाउरो शैलीमा प्रधानमन्त्रीप्रति लक्षित गर्दै आफूहरुलाई जनतामा जाने वातावरण ओलीले बनाइदिएको बताए ।

आफूहरु ऐतिहासिक जिम्मेवारी पूरा गर्न तयार रहेको जनाउँदै उनले केही साथीहरु लोभमा ओलीको पक्षमा भएको पनि दाबी गरे । संविधानविपरीत भएको संसद विघटन सर्वोच्च अदालतले उल्ट्याइदिने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले अदालतप्रति आफूहरुको सम्मान रहेको र छिटोभन्दा छिटो संविधानको व्यवस्थाअनुसार सदनलाई सुचारु गर्ने आदेश आउनेमा ढुक्क रहेको पनि बताए ।

ओली श्री ३ महाराजको पथमा हिँडेकाले पराजित भएको पनि उनले टिप्पणी गरे । ‘केपी ओली सामान्ती शासक जस्तो श्री ३ महाराज धिराज जङ्गेको बाटोमा हिड्नुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो । हाम्रो विजयको सुरुवात भयो,’ प्रचण्डले भने ।