
काठमाडौँ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भएसँगै विभिन्न मुलुकका राजदूत रहेका पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट व्यक्तिलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल निकट रहेका अस्ट्रेलिया, बहराइन, बंगलादेश, साउदी अरेबिया, डेनमार्कका राजदूतलाई फिर्ता बोलाउने गृहकार्य शुरु गरेका हुन् । उनीहरुलाई कार्यसम्पान मूल्यांकनको नाममा फिर्ता बोलाउने तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।



नेकपामा विवाद उत्कर्षमा पुगेपछि संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारमा समेत प्रभाव परेको छ । प्रदेशमा नेकपा ओली र प्रचण्ड-नेपाल समूह विभाजनको सबैभन्दा बढी असर परेको छ । प्रदेश सरकार परिवर्तन गर्न चलखेल शुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव नै दर्ता भइसकेको छ भने अन्य प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । यसरी पार्टी विभाजनको असर देखिएपछि संघीय सरकारले प्रचण्ड नेपाल समूहका राजदूत फर्काउने तयारी गरेको हो ।

प्रचण्ड-नेपाल समूह निकट मानिएका महेशराज दाहाल अष्ट्रेलियामा राजदूत छन् भने डा. वंशीधर मिश्र बंगलादेशमा राजदूत छन् । यस्तै बहराइनका राजदूत पदम सुन्दास पनि प्रचण्ड निकट व्यक्ति हुन् । उनी २०१७ को जुनमा राजदूत नियुक्त भएका थिए, उनको अब ६ महिना मात्रै कार्यकाल बाँकी छ । नेपालमा छँदा दलित मुक्ति अभियानका कारण चिनिएका व्यक्ति हुन् ।