
म्यान्मारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा संकटकालको घोषणा गरेको छ । सेनाको स्वामित्वमा रहेको टेलिभिजनबाट एक सन्देश जारी गर्दै सेना प्रमुख जनरल मि आउङ ह्ल्याङलाई शक्ति हस्तान्तरण गरिएको जानकारी दिइएको छ । यसअघि, म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका थिए । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।
सरकारी मिडिया एमआरटीभीले प्राविधिक कारण बताउँदै प्रशारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो । सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् । शनिबार म्यानमारको सेनाले संविधानअनुसार अघि बढ्ने बताएपछि म्यानमारमा सैनिक ‘कू’ को आशंका बढेको थियो ।