
दमक /झापाको गौरादहमा संचालन भएको मेयर कप भलिवलको उपाधी झापा गाउँपालिकाले हात पारेको छ। बिहिवार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधी हातपारेको हो।
उपाधी हात पार्न प्रयासरत रहेका दुबै टिमले दुई दुई सेटमा जित निकाले पनि अन्तिम सेटमा बिर्तामोड नगरपालिकाले लय गुमाउदा झापा सँग पराजित भएपछि उपबिजेतामै चित्त बुझाएको छ।सेमिफाइनल खेलमा गौरादह नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको बिर्तामोड नगरपालिकाको प्रथम पुरस्कार हातपार्ने दाउ झापा गाउँपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै बिफल बनाइदिएको छ।
सेमिफाइनल खेलमा दमक सँग संघर्षपूर्ण जित निकालेको झापा गाउँपलिका निकै कठिन संघर्षका साथ मेयर कपको उपाधी उचाल्न सफल भएको छ।जनता मा.बि. गौरादहको खेल मैदानमा सम्पन्न फाइनल खेलमा जितका लागि झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई २२-२५, २५-२०, २५-२१,२२-२५ र १५-१२को सेटमा पराजित गरेको छ।
गौरादह नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालन भएको अन्तरपालिका भलिबल प्रतियोगितामा प्रथम भएको झापा गाउँपालिकाले नगद १ लाख र दोस्रो हुने बिर्तामोड नगरपालिकाले ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको खेलकुद विकास समितिका अध्यक्ष हेमन्त कार्कीले जानकारी दिनुभयो ।