
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये ६ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीकाअनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो ।

यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । यता, ओखलढुङ्गा जिल्लामा पनि फोर जी सेवा सञ्चालन भएको छ । कूल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोर जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा शुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिङ्क मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।



घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् । जिल्लाको विकट गाउँ माप्यदूधकोशीमा रहेका आमासँग ललितपुरबाट भिडियो कुरा गर्नुभएको भन्दै चन्द्र घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत पहलकर्ता सबैलाई धन्यवाद दिए । विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नपर्ने माप्यदूधकोशीमा फोर जी सेवा शुरु भएपछि स्थानीयवासी दङ्ग परेका छन् । यस्तै खोटाङ जस्तो विकट जिल्लामा फोर जी सेवा सञ्चालन भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ । केही महिना अगाडि नै ७७ ओटै जिल्लामा फोर जी विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो ।

टेलिकमको फोर जी विस्तारको कूल लागत रु १८ अर्ब ७१ करोड रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको फोर जी सेवाको पहुँच हालसम्म ६१५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोर जीको पहुँच पु¥याउने गरी २०७५ पुसमा सम्झौता भई काम अगाडि बढाएको थियो । नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा दुई हजार ९५५ स्थानमा पाँच हजार १७६ ओटा बिटिएस टावरमार्फत फोर जी सेवा उपलब्ध गराएको छ । कोभिड–१९ का कारण काममा केही ढिलाइ भए पनि अहिले भने द्रुतगतिमा काम भइरहेको टेलिकम कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।