
काठमाडौँ : सरकार र विप्लव समूहबीचको पहिलो औपचारिक वार्ता सकिएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’

वार्ता स्थान भने गोप्य राखिएको छ । विप्लव समूहको वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेका थियो । सरकारसँग वार्ता गर्न विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ । सरकारी पक्षको वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् ।



केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो । त्यसको २ वर्षपछि अहिले सरकार आफैले मुलधारको राजनीतिमा यो समूहलाई पनि ल्याउन पहल थालेको हो ।
