नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुन्छ : प्रधानमन्त्री

काठमाडौँ : आज विश्व मृगौला दिवस, नेपालमा पनि मनाइँदैछ । दिवसका अवसरमा काठमाडौंमा आज चेतनामुलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो । कार्यक्रममा बोल्दै ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको ओलीले बताए ।

‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले दुईपटक मृगौला प्रत्यारोपण गराइसकेका छन् ।
मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी रहेकोमा प्रधानमन्त्री ओलीको जोड छ ।

बिज्ञापन

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू बाध्य भएर विदेश जानुपरेको उनले बताए । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’ भन्ने नारासहित आज नेपालसहित विश्वभर मृगौला दिवस मनाइँदैछ ।