
पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । बिहीबार एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा नेता रायमाझीले बरु आफूले सांसद पद छाडने, तर केपी शर्मा ओलीको साथ नछाड्ने बताएका हुन् ।

‘विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ । सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ उनले भने । माओवादी केन्द्र कारबाही गरेर सांसद पद निलम्बन गरे पनि पुनः मन्त्री र सांसद बन्न पाइने नेता रायमाझीको भनाइ छ ।



पूर्वएमालेका माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह एमालेमा फर्किएको बेलामा मन्त्री बनेका माओवादी केन्द्रका नेताहरु भने एमालेमै बस्ने भनी छलफलमा जुटेका छन् । तर, माओवादी केन्द्रबाट ओली समूहमा आएका रामबहादुर थापालगायत नेता पूर्वमाओवादीमा नफर्किने मनसायमा छन् ।
