सकियो नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबार बसेको सो दलको बैठकमा राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ भएको छ । बाँकी तय  एजेन्डाहरुमाथि भोलि (सोमबार) बस्ने बैठकमा छलफल गरिने गरी आइतबार सो बैठक टुंग्याइएको हो ।

सर्वोच्चको आदेशपश्चात् ब्यूँतिएको सो दलको पहिलो केन्द्रीय कमिटी बैठक आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडमा लगभग चार घन्टा बसेर सकिएको छ । बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए। उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए।

बिज्ञापन

केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानुपर्ने बताएका थिए। सोही क्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने  बताएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

‘अति नराम्रोलाई परास्त गर्न कम राम्रो स्टेप चाल्नुपर्ने भएको छ। तत्कालीन स्थितिमा सरकारबाट ओलीको बिदाइ पहिलो कदम हुनेछ,’ बैठकमा आफ्नो धारणा राख्ने क्रममा श्रेष्ठले भनेका थिए, ‘यसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर संवाद भइरहेको छ। चाँडै हामी ओलीलाई सरकारबाट बिदा गर्ने अवस्थामा पुग्छौँ।’  सो बैठक पुन: सोमबार ११ बजे बस्ने भएको छ ।