दुई युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ

रुपन्देही – रुपन्देहीको गैडहवा गाउँपालिकामा २ युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ परेका छन्।

 

बिज्ञापन

दुई युवतीलाई १२ युवाहरुले बलात्कार गरेको भन्दै उजुरी परेको छ। असार २ गते राति ८ बजे भएको घटना ढिलो गरी प्रहरी कहाँ पुगेको हो।  २१ र २२ वर्षीया  ती युवतीलाई पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए

 

घटना विवरणअनुसार ती दुई युवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् ।

 

अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए । भागेकी युवतीलाई हसनापुर गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् ।

 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

 

पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

 

गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए। “युवतीहरुले भनेअनुसार घटनामा धेरैजना संलग्न छन् तर प्रहरीले एकजनालाई मात्रै समातेको छ ।

 

अरु व्यक्तिलाई पनि पक्राउ गरेर  कारवाही गर्नुपर्छ”, उनले भने “युवतीहरुले न्याय पाउनुपर्छ ।” सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष बलालले बताए।

 

गाउँपालिका प्रमुख बच्चुलाल केवटले घटनामा संलग्न  सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले पीडितलाई न्याय रपीडकलाई कानूनी कारवाहीका लागि पहल गरिएको बताए।