भिल्ला रियलसँग आर्सनल पराजित

एजेन्सी । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए युरोप लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल पराजित भएको छ ।शुक्रबार बिहान सम्पन्न भएको खेलमा आर्सनल स्पेनिस क्लब भिल्ला रियलसँग २-१ ले पराजित भएको हो ।भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन म्यानुएल त्रिगुएरोस र राउल अल्बीओलले १/१ गोल गरे । यता आर्सनलका निकोलस पेपेले १ गोल फर्काए ।

घरेलु टोलीका लागि जारी खेलको पाँचौ मिनेटमा म्यानुएलले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको २९ औं मिनेटमा राउलले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको भिल्लाले दोस्रो हाफमा थप गोल भने गर्न सकेन ।

दोस्रो हाफको खेलको ५७ औं मिनेटमा डानिल सेबालोसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पाहुना टोली आर्सनल १० खेलाडीमा समेटिएको थियो । त्यस्तै खेलको ७३ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए । र खेलको ८० औं मिनेटमा इटिने कापोएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली पनि १० खेलाडीमा समेटिएको थियो ।त्यसपछि बाँकी समय दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल भिल्लाले २-१ गोलले जित निकाल्यो ।

उक्त जितसँगै भिल्लाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्सनललाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । दोस्रो लेग मे ७ मा हुनेछ ।