बिश्वकप क्रिकेट: बन्यो गज्जबको समीकरण, भारत-पाकबीच फेरि हुदैछ `हाई भोल्टेज´ भिडन्त

काठमाडौं। जारी क्रिकेट विश्वकपको समीकरण निकै गजबको भएको छ । अहिलेसम्मका खेल, बाँकी रहेका खेल र आपसमा खेल्ने टिमको अहिलेसम्मको प्रदर्शन हेर्दा सेमिफाइनलमा फेरि भारत र पाकिस्तानबीच हाइभोल्टेज भिडन्त हुने देखिएको छ ।

 

हिजो अस्ट्रेलियासँग इङल्याण्ड पराजित भएपछि पाकिस्तानको लागि सेमिफाइनलको बाटो सहज भएको छ र सेमिफाइनलमा उसले भारत प्रतिद्वन्द्वी पाउने सम्भावना उच्च छ । यसअघि सेमिफाइनलमा भारत र पाकिस्तानबीच २०११ मा भिडन्त भएको थियो ।

 

लिग चरणका ४५ खेलमध्ये ३२ खेल सकिँदा अहिले अस्ट्रेलिया ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ ।

 

६ खेलमा ११ अंक भएको न्यूजिल्याण्ड दोस्रो, ५ खेलमा ९ अंक भएको भारत तेस्रो, ७ खेलमा ८ अंक भएको इङल्याण्ड चौथो, ७ खेलमा ७ अंक भएको बंगलादेश पाँचौं, ६ खेलमा ६ अंक भएको श्रीलंका छैटौं, ६ खेलमा ५ अंक भएको पाकिस्तान सातौं, ६ खेलमा ३ अंक भएको वेष्ट इण्डिज आठौं, ७ खेलमा ३ अंक भएको दक्षिण अफ्रिका नवौं र ७ खेलमा सबै हारेको अफगानिस्तान अन्तिम स्थानमा छन् ।

 

दक्षिण अफ्रिका र अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

 

नियमअनुसार अंक तालिकाका शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन् । अहिलेसम्म चौथो स्थानमा रहेको आयोजक इङल्याण्डको सेमिफाइनल यात्रा निकै कठिन छ ।

 

उसले अब भारत र न्यूजिल्याण्डसँग मात्र खेल्न बाँकी छ । यी दुवै टिम यति बलिया छन् कि जारी विश्वकपमा अहिलेसम्म एउटा खेल पनि हारेका छैनन् । यी दुई एक आपसमा भिड्नुपर्ने खेल भने वर्षाका कारण रद्द भएको थियो ।

 

इङल्याण्डले विश्वकपमा न्यूजिल्याण्डलाई १९८३ मा हराएपछि अहिलेसम्म हराउन सकेको छैन । भारतलाई १९९२ मा हराएपछि अहिलेसम्म हराउन सकेको छैन ।