
काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।
आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री गुरुङ रहेका उनको सचिवालय स्रोतले जनाएको छ । २७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ ।
१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि ८ मन्त्रालय पुगेको थियो ।