ठाकुर पक्ष सरकारमा जाले भएपछि ५ सांसदले छाडे उपेन्द्रको साथ

काठमाडौँ : सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्।

५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए । पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ ।

बिज्ञापन

यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको बताइएको छ ।

यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ। संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ। जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा जाने निर्णय गरिसकेको छ । जसपाले राखेका माग पूरा गरेको भन्दै उनीहरू सरकारमा जान लागेका हुन् । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने तथा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

जसपाले सरकारसँग ५ वटा माग राखेको थियो। अब सरकारले पूरा गर्न बाँकी २ माग छन्। रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारले पूरा गरेको छैन। यी माग पनि तत्काल पूरा गर्ने आश्वासन ओलीले दिएको जसपाका नेताहरूले जनाएका छन्।