नागरिक समाजको पहलमा सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

अक्सिजन फर नेपाल नामक नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट आउने भएको छ ।

कोभिड– १९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गर्दै देशका विभिन्न भागमा अक्सिजन प्लान्ट जडान गर्न यो अभियान सुरु गरिएको हो ।

बिज्ञापन

बतास फाउन्डेसन, ह्युमानिटी फाउन्डेसन नेपाल, अमेरिकी नेपाल मेडिकल फाउन्डेसन, क्रिएसन, मिसन रिबिल्ड नेपाल, स्याकार ट्रेडिङ कम्पनी प्रालि, जगदम्बा स्टिलको संयुक्त सहकार्य तथा अन्य थुप्रै संघ-संस्थाहरूको सहयोगमा यो कार्यको सुरुआत गरिएको हो ।

यो योजना अन्तर्गत नेपालको सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । जेनेरेटर सञ्चालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ, त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुआत गरिने बताइएको छ ।

यस अभियानका साझेदारहरुले तत्कालीन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्ने छन् ।