
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले दिएको जानकारीअनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री बनेकै दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन् । अब विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने उनको तयारी छ ।




प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दाबी पेश गरेका काँग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।
संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।
विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ। जसका कारण सत्तापक्षलाई बहुमत पुर्याउन केही सहज हुने पक्का छ।