
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ । १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।




विहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ । यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकोमा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ ।

पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ । महाधिवेशनको मिति भने भदौ १६ देखि १९ नै कायम छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको तालिकाअनुसार गाउँ वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ ।
गाउँ, नगरपालिका साउन १६, प्रदेश क्षेत्रीय साउन २०, प्रतिनिधिसभा क्षेत्रीय (एक निर्वाचन क्षेत्र भएको जिल्लाको समेत) साउन २३, दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछन् ।
बैठकमा कोरोना महामारीका बीच उक्त अधिवेशन कसरी सम्पन्न गर्नेबारे बहस भइरहेको छ । विहीबार १२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । नेताहरुले बोल्न क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो ।