गौतम बुद्ध विमानस्थल सौर्य ऊर्जा प्रयोगको तयारी | OmkarTimes.com

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ । यसका लागि विमानस्थललाई अनुदान र ऋण उपलब्ध गराएको एसियाली विकास बैङ्क (एडीबी) ले छलफल अगाडि बढाएको छ । “हालसम्मको छलफलका आधारमा अब करिब करिब डेढ महिनाभित्रै यो विषय टुङ्गोमा पुग्ने छ”, एसियाली विकास बैङ्कका नेपालका लागि आयोजना अधिकृत नरेश
प्रधानले भन्नुभयो । सोलार प्यानल जडान गरी विमानस्थल परिसरभित्रै कम्तीमा १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने अवधारणाका साथ एडीबीले यस्तो तयारी गरेको हो ।
एडीबीका आयोजना अधिकृत प्रधानका अनुसार सौर्य ऊर्जामार्फत प्रतिमेगावाट विद्युत् उत्पादन गर्न करिब १० करोड खर्च लाग्छ । विमानस्थललाई १० मेगावाट विद्युत् भने आवश्यक पर्दैन तर विमानस्थलमा उत्पादन भएको विद्युत् नजिकका उद्योगमा समेत आपूर्ति गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
“यसका लागि स्थानीय सरोकारवालासँग पहिलो चरणको छलफल गरिसकिएको छ, केन्द्रीयस्तरमा पनि छलफल जारी छ”, प्रधानले भन्नुभयो । सौर्य ऊर्जा जडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको प्रधानले जानकारी दिनुभयो । भैरहवा विमानस्थल मुलुककै नमुना रहेको र यहाँ सौर्य ऊर्जा जडान उपयुक्त ठानेर नयाँ अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।
सौर्य ऊर्जामार्फत अनुदान गरिए झैँ १० मेगावाट नै विद्युत् उत्पादन भए त्यसको बिक्री वितरणबाट विमानस्थलको आम्दानीसमेत बढ्ने छ । यो अवधारणा अगाडि बढाउन सकिए विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरु गरिने र छ महिनाभित्रै सकिने प्रधानले जानकारी दिनुभयो ।
एडीबीका अधिकारीहरूका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालकै पहिलो “ग्रिन एअरपोर्ट” को अवधारणानुसार विकास गर्ने गरी सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी गरिएको हो । छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित रहेकाले अब त्यसको अवलोकन गरी सौर्य ऊर्जाको प्रयोग यहाँ पनि गरिने प्रधानले बताउनुभयो । यसका लागि आवश्यकपर्ने रकम एडीबीले अनुदानका रूपमा उपलब्ध गराउने छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भसँगै विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले दाबी गर्दै आएको छ । विमानस्थल आयोजनाले २०१९ डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । त्यसपछि आवश्यक सबै प्रक्रिया पूरा गरी सन् २०२० भित्रै अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाइएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलको अहिले ८० प्रतिशतभन्दा बढी काम सकिएको छ । विमानस्थलको धावन मार्ग, पाँचवटा ठूला जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माणको काम सम्पन्न भइसकेको छ भने अहिले टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ । कन्ट्रोल टावर निर्माण पनि अन्तिम चरणमा छ । यो विमानस्थल चीनको नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।