
पोखरा । पोखरा म्याराथन अन्तर्गतको ५ किलोमिटर छात्र तर्फको दौडमा बिबेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन ।

शनिवार पोखरामा सम्पन्न म्याराथन दौडको छात्र तर्फको उपाधि कास्कीको माछापुच्छ्र्रे लाहचोकको ज्ञान ज्योति इङलिस बोर्डिङ स्कूलमा अध्ययनरत विवेक परियारले जितेका हुन् । उनले दौड २१ मिनेट ५२ सेकेन्डमा निर्धारित ५ किलोमिटरको दूरी पार गरेर विजयी बनेका हुन् ।



त्यसैगरी छात्रातर्फको उपाधि भानु मावि तनहुँमा अध्ययनरत नर्मता गुरुङले जितेकी छन् । उनले तोकिएको दूरी २८ मिनेट १० सेकेन्डमा पुरा गरेर छात्रा तर्फको उपाधि चुमेकी हुन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न १५ औं संस्करण अन्तर्गतको दौड प्रतियोगितामा दुवै विजेतालाई नगद १०/१० हजारसहित मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।
त्यसैगरी दाङको पद्मोदय मोडल सेकेण्डरी स्कुलमा अध्ययनरत छात्र गृष राना मगर दोश्रो भएका छन् भने श्री ज्योती मावी नवलपरासीका आशिष पोखरेल तेश्रो भए ।
छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङ घोराहीकी बन्दना चौधरी दोश्रो र कास्कीको उदय मावि धम्पुसकी बिनु बिक तेश्रो भइन् ।
प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकले क्रमशः नगद ७ र ४ हजारसहित मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, गैर आवाशीय नेपाली संघ युकेका प्रमुख संरक्षक मेजर डम्वर घले लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।
सो अवसरमा उपप्रमुख गुरुङले हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद ५ हजार पुरस्कार प्रदान गरेकी थिइन् ।
त्यसैगरी भुम्दीकोट समाज पोखराले समेत हिमाली सांस्कृतिक परिवारलाई नगद ५ हजार प्रदान गरेको छ ।