
काठमाडौँ : भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्यहरुसँगको छलफललाई तीव्र बनाएका छन् । देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।

बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेका छन् । देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।



कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफू बुढानिलकण्ठस्थित छलफलमा रहेको बताए । हुमागाईंलाई देउवाले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख बनाएका थिए । हुमागाईं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्थे । देउवाले आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग दिउँसो ३ बजे छलफल गर्न लागेका छन् ।

साथै शनिबार देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । उनले आफूनिकट नेताहरुसँग भेट गरी आफू फेरि सभापतिमा उठ्ने भन्दै त्यसमा सहयोग गर्न भनेका थिए ।
यता संस्थापनइतर पक्षका नेताहरुले भने देउवाले आफूनिकटका नेताहरुसँग मात्र एकतर्फी रुपमा छलफल गरेको असन्तुष्टि जनाएका छन् । पार्टीलाई कसरी एक बनाउने भन्नेतिर देउवाको ध्यान नगएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्य बलबहादुर केसीले आपत्ति जनाए ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । देउवाले महाधिवेशन लक्षित सक्रियता बढाएका छन् ।