
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबारदेखि परीक्षणको रुपमा बिजुली उत्पादन गर्ने भएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।
माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताए।
यस आयोजना स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।