निस्कासित प्रदेश सांसद थापाको मुद्दा सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं : राष्ट्रिय जनमोर्चाबाट निस्कासित गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको मुद्दा आज पुनः सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । त्यो मुद्दा न्यायाधीशद्वय विश्वरम्भर प्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।चौथो नम्बरमा परेको थापाको मुद्दामा आज सुनुवाइ हुने अपेक्षा गरिएको छ । यसअघि विभिन्न मितिमा पेशी तोकिएपनि कहिले नभ्याइने त कहिले हेर्न नमिल्ने भन्दै पेशी सर्दैआएको थियो । गण्डकी प्रदेशमा सरकार निर्माणसँगै चलेको रस्साकस्सीका बीच थापाको पद धरापमा परेको थियो । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ मा जनमोर्चाबाट निर्वाचित थापाले पार्टी निर्देशनको अवज्ञा गरी तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेपछि उनको पद धरापमा परेको थियो ।

जनमोर्चाले थापालाई गुरुङको विपक्षमा बनेको गठबन्धन र नेपाली काँग्रेसका मुख्यमन्त्री उम्मेदवार कृष्णचन्द्र नेपालीको पक्षमा उभिन निर्देशन दिएको थियो । त्यसविरुद्ध लागेपछि पद गुमाएका थापाको पद सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट तत्काल जोगिएको थियो । तर पछि पुनः जनमोर्चाले उनलाई कारबाही गरेर निकालेपछि परेको रिटमा सर्वाेच्चले भने अन्तरिम आदेश जारी गरेन ।सर्वाेच्चले अन्तरिम आदेश जारी नगरेपछि थापा अहिले पदमुक्तको अवस्थामा छ । तर थापाले दिएको रिटमा सर्वाेच्चले गण्डकी प्रदेश सभा सचिवालय र जनमोर्चा समेतलाई झिकाएको थियो । थापालाई गरिएको कारबाहीमा अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा आज दुवै पक्षको उपस्थितिमा इजलासमा बहस हुँदैछ ।