सहमतिसँगै ओली र नेपाल भेटवार्ताको तयारी

काठमाडौं : कार्यदलस्तरमा सहमति भएसँगै नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।

एमालेको आन्तरिक विवाद समाधान गर्न कार्यदलबीच १० बुँदे सहमति भएको र उक्त प्रस्ताव अनुमोदनलगायत विषयमा छलफल गर्न ओली-नेपालबीच भेटवार्ताको तयारी भएको हो। अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भएको नेता सुवास नेम्वाङले बताए ।

बिज्ञापन

उनले भने–‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन ।’

साथै कार्यदलबीच सहमति भएका १० बुँदाबारे स्थायी कमिटी बैठक गरी अनुमोदन गर्ने तयारी छ। नेता नेपालले कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताउँदै असहमति जनाइरहेका छन्।

एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए। यस्तै एमालेले आइतबारका लागि बोलाएको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरेको थियो।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सर्वाेच्चको फैसलापछि सोमबार नै स्थायी कमिटी बस्ने र मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।