
एजेन्सी । अर्जेन्टिना सुपर स्टार लियोनल मेस्सी बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन (पीएसजी) पुगे सँगै पोर्चुगिज डिफेन्डर जोसे फोन्टेले राष्ट्रिय टोलीका सहकर्मी एवम् कप्तान क्रिस्टियानो रोनाल्डोलाई फ्रान्सेली क्लब लिलेमा अनुबन्ध हुन आग्रह दिएका छन् ।
उनले एक अन्तर्वार्ताका क्रममा रोनाल्डोलाई नियमित रूपमा लिले आउन आग्रह भन्दै सन्देश लेख्ने गरेको खुलाए । हाल ३७ वर्षीय फोन्टेले लिलेबाट लिग वान खेलिरहेका छन् । रोनाल्डोका खास प्रतिद्वन्द्वी मानिने लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध भएपछि फोन्टेले उनलाई पनि लिलेबाट लिग वान खेल्न अनुरोध गरेका हुन् ।
प्रायःगरी सधैँ रोनाल्डोलाई लिले आउन आग्रह गर्दै म्यासेज पठाउनेगरेको सुनाउँदै फोन्टेले यसको जवाफमा रोनाल्डो हास्ने गरेको बताए । तथापि, आफूले हार नमानी हरेकपल्ट यस्तो आग्रह दोहार्याउने गरेको उनी सुनाउँछन् ।
‘मेस्सी फ्रान्स आएपछि हामीलाई थप गाह्रो हुनेछ तर हामी पनि पिएसजीका लागि चुनौती बन्न सक्छौँ’, उनले भने, ‘यसैले त म प्रत्येक दिन रोनाल्डोलाई लिले आउन आग्रह गर्दै सन्देश पठाउँछु । उनले हा हा हा भनेरमात्र जवाफ फर्काउँछन् ।’
‘हामी उपाधि रक्षा गर्न हाम्रो हतियार प्रयोग गर्ने प्रयास गछौँ र म रोनाल्डोलाई कुनै पनि बाटोबाट लिले ल्याउने प्रयास गर्नेछु । म एउटा योजना बनाउनेछु ! उनले फ्रेन्च टाइटल जिताउने छन् ।’
अघिल्लो सिजन लिलेले पिएसजीको एकाधिकार तोड्दै घरेलु लिगको उपाधि जितेको थियो ।