ओलीले माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन् ।  नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका बेला च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले उनीहरूलाई मूल घरमा फर्किन भनेका हुन् । पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य नेता प्रदीप ज्ञवालीले  सुनाएका थिए ।  वक्तव्यमा विभाजनको बाटो हानिकारक भएकाले त्यो बाटो नअपनाउन भनिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘तपाईंहरू मूल घरमा फर्किनुस् । यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’ प्रवक्तामा योगेश भट्टराई यसैबीच, एमालेले योगेश भट्टराईलाई नेकपा एमालेको प्रवक्ताको जिम्मेवारी दिएको छ । एमालेको संरचना २०७५ जठ २ को अवस्थामा फर्किने भएपनि भट्टराईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।