नेपाली कांग्रेसका तीन जिल्ला सभापतिहरूले अनशन सुरु

काठमाडौँ : नेपाली कांग्रेसका तीन जिल्ला सभापतिहरूले अनशन सुरु गरेका छन् । यही भदौ ८ गतेदेखि क्रियाशील सदस्यता प्रकाशनको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । अनशनमा आज मधु आचार्य, जगदीश्वरनरसिंह केसी र रमेश धमलाको ठाउँमा तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी र डोल्पा सभापति अंगद बुढाले अनशन सुरु गरेका हुन् ।

यस्तै, युवा नेताहरू नेविसंघ पूर्वअध्यक्ष रञ्जीत कर्ण र नेविसंघकै पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीको ठाउँमा नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्य छन् । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न, सार्वजनिक भएपछि त्यसमा भएका त्रुटि सच्याउनका लागि जिल्ला सभापतिहरूलाई कम्तीमा २४ घण्टाको समय उपलब्ध गराउन माग गरेका छन् ।

बिज्ञापन

लोकतन्त्र र पारदर्शीताको कुरा गर्ने कांग्रेसलाई जिल्ला सभापतिहरूले गम्भीर प्रश्न उठाउँदै रिले अनशन सुरु गरेका हुन् । जिल्ला सभापतिको धर्नामा साथ दिन विभिन्न जिल्लाबाट सभापतिहरू आउँदै गरेको बताइएको छ ।