
काठमाडौं – मन्त्रिपरिषद् विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने गरी प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा सहमति जुटेको छ ।

आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।



एमालेबाट छुट्टिएका माधव नेपाल नेतृत्वको समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीअनुसार नेताहरूबीच छलफल भएको हो । तर, जसपाका नेता उपेन्द्र यादवले बाहिरी जिल्लामा पार्टीको कार्यक्रम रहेकाले १३ गतेसम्म पर्खिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेकाले सरकार विस्तार १४ गतेसम्म लम्बिएको हो ।
